Monday, April 15, 2024
16.1 C
Kathmandu

वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय र पालिकालाई बढी जिम्मेवार बनाउनुपर्ने

क्रियटिभ खबर, २९ असार २०७९, काठमाडौँ । राजधानीमा आयोजित वन डढेलो व्यवस्थापन रणनीति, २०६७ परिमार्जन र राष्ट्रिय वन डढेलो व्यवस्थापन समानुकुलित संरचना र कार्य योजनाको मस्यौदा प्रस्तुतीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागीहरूले, वन डढेलोको जोखिम न्यूनीकरण र डढेलो नियन्त्रणका लागि स्थानीय पालिका र समुदायलाई नै बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका हुन् । वनको सबैभन्दा नजिक स्थानीय समुदाय नै बस्ने हुनाले डढेलोबारे सबैभन्दा पहिले उनीहरूलाई नै जानकारी हुने र घटना भएको स्थानमा पनि सबैभन्दा पहिले उनीहरू नै पुग्न सक्ने हुनाले समुदायलाई नै डढेलोको नियन्त्रणमा पनि परिचालन गर्नुपर्ने सहभागीहरूको धारणा थियो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले, वन डढेलो नियन्त्रणका लागि बहु क्षेत्रगत निकायहरू बिचको समन्वय अति आवश्यक रहेको धारण व्यक्त गर्नुभयो । जोखिमको लेन्स लगाएर मात्र डढेलो नियन्त्रणका कार्य गर्न सकिने भन्दै कार्यकारी प्रमुख पोखरेलले यसको जोखिमबारे स्थानीय समुदायमा सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण नेपालमा पनि अघिल्लो वर्ष डढेलोका घटनाले झन्डै विकराल रूप लिन खोजेको भन्दै उहाँले यस्तो अवस्था आउन नदिन जोखिम न्यूनीकरणका कार्यक्रमहरूमा जोड दिनुपर्ने बताउनुभयो । यी विषयहरू रणनीतिमा स्पष्ट आउनुपर्ने उहाँको भनाइ थियो ।

वन तथा वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले वन डढेलो लामो समयसम्म फैलनबाट रोक्नका लागि जङ्गलमा ढलेका र सुकेका रुखहरूलाई तत्काल हटाउनुपर्ने बताउनुभयो । उहाँले जानीजानी वनमा आगो लगाउने कुरालाई कडा रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पछिल्लो समय वन डढेलोका घटना बढिरहेकाले रणनीतिको परिमार्जन आवश्यक महसुस गरी काम अघि बढाइएको बताउनुभयो । प्राधिकरणसँग संयोजन गर्दै आइरहेको सेन्टर फर ग्रिन इकोनोमिस्ट डेभलोपमेन्ट नेपालका परामर्शदाता विजयराज पौडेलले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ र राष्ट्रिय वन डढेलो व्यवस्थापन समानुकुलित संरचना र कार्य योजनाको मस्यौदाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रस्तावित मस्यौदा कार्य योजना माथि टिप्पणी गर्ने क्रममा कतिपय पानीको अभावमा समयमै डढेलो नियन्त्रणमा कठिनाइ हुने गरेका कारण डढेलोको जोखिमपूर्ण वनमा ठुला ठुला पोखरीहरू निर्माण गरी पानी सङ्कलन गर्नुपर्ने सहभागीहरूले बताए । यसै गरी निकुञ्ज क्षेत्र वरपर बस्ने समुदाय विशेष गरी महिलालाई डढेलो नियन्त्रणका उपायहरूको अनुशिक्षण गराउनुपर्ने, डढेलो नियन्त्रणका क्रममा मृत्यु भएका र घाइतेहरूको हकमा उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, डढेलो नियन्त्रणका औजारहरूको उचित वितरणको व्यवस्था मिलाई यसको प्रयोगबारे अनुगमन गर्नुपर्ने, सुरक्षा निकायहरूको परिचालन गरी डढेलो नियन्त्रणका अभ्यासहरू गराउनुपर्ने, आधुनिक उपकरणहरू एअरक्राफ्ट  (Aircraft), ड्रोन (Drone) लगायतको व्यवस्था मिलाउनुपर्ने सुझाव दिइएको थियो ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here