Monday, April 15, 2024
16.1 C
Kathmandu

विपद् सामूहिक उद्धार एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरीलाई हस्तान्तरण 

क्रियटिभ खबर, ०८ श्रावण २०७९, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपदमा प्रयोग हुने एम्बुलेन्स तथा उपकरण सशस्त्र प्रहरी बल, नेपाललाई शनिबार हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण भएका सामग्रीमा ८ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स (Mass Casualty Evacuation Ambulance) छन्। यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिन लगायत ‘ए क्लास’ को एम्बुलेन्समा हुने सबै खालका उपकरण (Critical care facilities) जडान गरिएका छन्। यसमा ६ वटा बेड छन् भने कोहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ ।

यी नेपालमै पहिलो सामूहिक उद्धार एम्बुलेन्सहरू हुन । यी एम्बुलेन्समा सिसिटिभी क्यामेरा जडान गरिएकाले टाढा रहेका विशेषज्ञ डाक्टरहरूले समेत उपचारमा गाइड गर्न सक्छन् । मोबाइल अस्पतालका रूपमा समेत प्रयोग गर्न सकिने यी साधनहरू सातवटा प्रदेशमा १–१ वटाका दरले वितरण गरिनेछ भने एउटा काठमाडौँमा रहनेछ । यी एम्बुलेन्सहरू सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पतालसँगको समन्वयमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । 

त्यसै गरी, भूकम्प, पहिरो, आगलागी, वन डढेलो तथा बाढीजस्ता विपद्का घटनापछि खोज तथा उद्धारका लागि आवश्यक पर्ने ६२ प्रकारका उपकरणहरू पनि हस्तान्तरण गरिएका छन् । सोही अवसरमा राष्ट्रिय अपाङ्ग कोषसँगको सहकार्यमा खरिद गरिएको अपाङ्गता सहायता सामग्रीहरू राष्ट्रिय अपाङ्ग कोषलाई हस्तान्तरण गरिएको छ । ती सहायता सामग्रीमा ह्वीलचेयर, कृत्रिम हातखुट्टा लगायतका १५१ प्रकारका सामग्री छन् ।

हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री खाँणले सबै सामग्री सम्बन्धित ठाउँमा पुर्‍याउन र जनधनको क्षति कम गर्न खोज उद्धारमा सदुपयोग गर्न निर्देशन दिनुभयाे । गृहसचिव टेकनारायण पाण्डेले मानिसको जीवन जोगाउन एम्बुलेन्स तथा उपकरणहरू महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एम्बुलेन्स तथा उपकरणहरूको व्यवस्थाले नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट खोज तथा उद्धारमा ठूलो प्रभाव पर्ने बताउनुभयाे । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बेला बेलामा प्राप्त उपकरणहरूले बलको खोज तथा उद्धार क्षमता अभिवृद्धि भएको उल्लेख गर्नुभयाे । 

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई लगायतको उपस्थिति थियो । यी सबै साधन तथा उपकरण नेपाल सरकारको बजेट स्रोतबाट व्यवस्थापन भएको हो । जसमध्ये, विपद् सामूहिक उद्धार एम्बुलेन्स र अपाङ्गता सहायता सामग्री विश्व बैंकद्धारा व्यवस्थापन गरिएको Multi Donor Trust Fund (MDTF) को सहयोगमा खरिद गरिएको प्राधिकरणले जनाएको छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here