Saturday, July 20, 2024
24.1 C
Kathmandu

भरपर्दो बन्दै छ पूर्वानुमानमा आधारित पूर्व कार्य 

क्रियटिभ खबर, २४ आषाढ २०८१, काठमाण्डौं।  “पहिले त वर्षा कहिले आउँछ थाहै हुँदैन थियो । हावाहुरी सहित पानी आएपछि मात्रै थाहा पाउँथ्यौ । त्यसले सबै भिजाइ दिन्थ्यो, बगाइदिन्थ्यो । बालीनालीहरुमा धेरै असर गर्थ्यो ।” बारबर्दिया नगरपालिका वडा २ का सुभाषचन्द्र थारु पुरानो अनुभव सुनाउँदै भन्नुहुन्छ । 
यस्तै अनुभव छ सोही वडाका अध्यक्ष रामफेरन थारुको । उहाँ भन्नुहुन्छ “हामीलाई बबई नदीले प्रत्येक वर्ष केही न केही दुःख दिइन्थ्यो । कटान, डुबान सँगै मानवीय क्षति, भौतिक क्षति र बालीनालीको क्षति गरिरहेको छ । २०७१ सालको बाढीमा ९ जनाको ज्यान गएको थियो र धेरै मानिसहरूको सम्पत्ति पनि क्षति भएको थियो । जलवायु परिवर्तनको कारणले गर्दा नसोचेको दिनमा पानी आउँछ, हिउँदमा पनि ठुलो पानी आउँछ, जसले गर्दा बालीनालीको धेरै क्षति हुने गरेको छ ।”
तर अहिले समय फेरिएको छ । मौसमको पूर्वानुमान भरपर्दो हुँदै गएपछि पहिले नै तयारी गर्न सकिने हुँदा केही भए पनि जोगिन सकिएको वडा अध्यक्ष बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ  “रेडक्रसले बारबर्दिया नगरपालिकामा, बड्घर, महिला सञ्जाल, बुद्धिजीवी, समाजसेवी, युवा समूहहरू, टाक्सफोर्सहरु, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली आदिलाई धेरै प्रकारका तालिम पनि दिएको छ । पूर्व तयारीका लागि लाइफ ज्याकेट र डोरीहरू पनि राखेका छौँ । त्यसै गरी बाढी आएको हेर्नका लागि दुई वाट मचान पनि बनाएका छौँ । पूर्व सूचना आइसकेपछि प्रत्येक टोलमा रहेका हाम्रा चौकीदारहरूले गाउँ गाउँमा गएर चिच्याएर जानकारी गराउँछन्, र सबैले आफ्ना सामानहरू समयमा नै सुरक्षित स्थानमा राख्नुहुन्छ ।”
पहिले बाढीको धेरै असर भोगेका सुभाषचन्द्र थारु पनि आजभोलि पहिले नै थाहा पाउँदा क्षति कम भएको बताउनुहुन्छ, “उहाँ भन्नुहुन्छ अहिले त युवाहरूले मोबाइलमा हेरेर, ल है यो दिनमा पानी आउँछ भन्छन् । त्यसै अनुसार पहिले नै तयार हुन्छौ । ल है पानी आउँदै छ, छोराबुहारी हो धान, गहुँ के–के छन् सबै त्रिपालले छोपेर जोगाऔँ भन्छौँ । पहिलेको समयमा त केही पनि थाहा हुँदैनथ्यो ।”

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here