Saturday, July 20, 2024
24.1 C
Kathmandu

व्याख्या: हिमाली क्षेत्रमा जलवायु परिवर्तन, भूकम्प र जलविद्युत

एक नयाँ अनुसन्धानले हिमाली क्षेत्रमा हिमनदी पग्लने दरमा भएको वृद्धि र हिमाली भूबनोटको बढ्दो अस्थीरताले भूकम्पलाई अझै जोखिमयुक्त बनाउनुका अतिरिक्त भूकम्पको संख्या समेत बढाइरहेको देखाएको छ ।
अब्रार मात्तु, डायलग अर्थ: मालय पर्वत तुलनात्मक रूपमा नयाँ पहाड हुाे। भारतीय उपमहाद्वीपको टेक्टोनिक प्लेट सरेर यूरेशियन प्लेटसँग ठोक्किँदा उठेका पहाडले हिमाली शृंखला बनेका हुन् । एकआपसमा अड्केर स्थीर बसेका टेक्टोनिक प्लेटहरूले आफूमा सञ्चित दबाब विसर्जन गर्न चिप्लिँदा भूकम्पहरू आउँछन् । त्यसैले हिमाली क्षेत्रमा भूकम्पको जोखिम धेरै छ ।
जलवायु परिवर्तनले मौसमी गतिविधिको प्रवृत्तीलाई असर गरिरहेको, हिमनदीहरू पग्लिने दर बढिरहेको र हिमाली भूबनोट अस्थिर बनिरहेकाले पहिले देखि नै बढ्दो क्रममा रहेको भूकम्पीय जोखिमका बीच, एक नयाँ अनुसन्धानले जलवायु परिवर्तनले यस क्षेत्रमा भूकम्पको संख्या समेत बढाइरहेको देखाएको छ ।

• के हिमाली क्षेत्रमा भूकम्पहरूको संख्या बढ्दै गएको हो?
• के जलवायु परिवर्तनले पनि हिमाली क्षेत्रमा भूकम्प जान सक्छ?
• के ठुला पूर्वाधार निर्माणले भूकम्प जान सक्छ ?
• जलवायु परिवर्तनले भूकम्पलाई कसरी बढी जोखिमयुक्त बनाउँछ ?
• हिमालीक्षेत्रमा बढ्दो बहुविपद्

के हिमाली क्षेत्रमा भूकम्पहरूको संख्या बढ्दै गएको हो ?
सन् १९०० देखि सन् २०१० सम्ममा हिमाली क्षेत्रमा भएका भूगर्भीय गतिविधिको विश्लेषण गर्दा भूकम्पका संख्यामा तीव्र वृद्धि भएको र खासगरि सन् २००० पछि झन् धेरै बढेको देखिन्छ । विश्लेषण अनुसार, हिमाली क्षेत्रमा सन् १९६० देखि ७०को दशकमा प्रति वर्ष १०० भन्दा कम भूकम्पहरू जाने गरेकामा सन् २००० देखि २०१०को बीचमा ५०० देखि ६०० भुकम्प गए । ती भूकम्पहरूमध्ये धेरैजसो २.० देखि ६.० रिक्टर स्केलका थिए । कतिपयले कमसल गुणस्तरमा निर्माण गरिएका संरचनाहरूमा क्षति पुर्‍याए भने अन्यले उच्च गुणस्तरमा निर्माण भएका संरचनाहरूमा समेत केही क्षति पुर्याए । कतिपय भूकम्प मानिसहरूले स्वतः महसुस गर्न सक्ने खालका थिए भने, अन्य भूकम्प अत्याधुनिक वैज्ञानिक उपकरणले मात्र पत्ता लगाउन सक्ने खालका थिए । यद्यपि, उक्त विश्लेषणले भूकम्पको संख्यामा भइरहेको वृद्धि र जलवायु परिवर्तन बीच सिधा सम्बन्ध भने स्थापित गर्न सकेको छैन ।

के जलवायु परिवर्तनले पनि हिमाली क्षेत्रमा भूकम्प जान सक्छ ?
हिमालयको लगभग १ लाख वर्ग किमी क्षेत्रफल हिमनदीहरूले ढाकेका छन् । पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव बाहिर पृथ्वीको सबैभन्दा ठुलो बरफको भण्डार यही हो । हिमाली क्षेत्र विश्वव्यापी औसत दरभन्दा छिटो गतिमा तात्दैछ । कार्बन उत्सर्जनको दर मध्यम स्तरको मात्रै कायम रहँदा पनि हिमाली क्षेत्रका हिमनदीहरूमा सन् २०३० सम्ममा बरफ भण्डारको १० देखि ३० प्रतिशत घट्ने अनुमान सन् २०२२को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले गरेको छ ।

काश्मीर विश्वविद्यालयका भूवैज्ञानिक मुदासिर भाटका अनुसार हिमाली क्षेत्रका हिमनदीमा भएको यो परिवर्तनले आइसोस्टेसी नामक प्रक्रियाका गराउँछ र यसका कारण थप भूकम्पहरू जान सक्छन् । आइसोस्टेसी भनेको पृथ्वीले बोक्ने तौलको आधारमा यसको सतह कसरी उठ्छ र कसरी बस्छ भन्ने व्याख्या गर्ने प्रणाली हो । यस प्रक्रियामा हिमनदीहरूले पार्ने प्रभावलाई ग्लेशियल आइसोस्टेटिक अड्जस्टमेण्ट (जीआइए) भनिन्छ । हिमाली क्षेत्रको भूसतहमा धेरै संख्यामा ठुला धाँजा वा दरारहरू रहेका हुनाले, जीअाइए मार्फत हिमनदीमा भएको बरफको क्षयले गर्दा पृथ्वीको सतहमा हुने असन्तुलन वा चालले थप भूकम्प आउन सक्ने भाटको विश्वास छ । यो प्रक्रिया पृथ्वीको अन्य क्षेत्रमा पनि देखिएको छ ।

तर हिमाली क्षेत्रको भूसतहमा चाप सिर्जना गर्ने पक्ष हिमनदी मात्र होइनन् । यसमा मनसुनले पनि आफ्नो भूमिका खेल्छ । मनसुन दक्षिण एसियामा अंग्रेजी महिना जुनदेखि सेप्टेम्बरसम्म चल्ने गर्छ र यस क्षेत्रमा हुने कूल वर्षाको ८०% वर्षा मनसुनमै हुन्छ ।

नेपालका हिमाली क्षेत्रमा गएका भूकम्पहरूमध्ये मापन उपकरणले नाप्न सकेका १०,००० भूकम्पहरूसँग सम्बन्धित मौसमी ढाँचाहरू केलाएर फ्रान्सेली र नेपाली वैज्ञानिकहरूले गरेको अनुसन्धानले “गर्मी याममा भन्दा जाडो याममा भूकम्पको संख्या दुई गुणाले बढी हुने” गरेको निष्कर्ष निकालेको छ । वर्षा याममा गंगा नदी बेसीनमा पानीको मात्रा समेत बढ्ने हुनाले भूगर्भीय चाप पनि बढ्नु यसको कारण रहेको उनीहरूले बताएका छन् ।

पाकिस्तानको इस्लामावादमा रहेको राष्ट्रिय भूगर्भ अनुगमन केन्द्रका निर्देशक तथा प्रमुख भूगर्भविद् जाहिद रफीका अनुसार , “जाडोमा जाने धेरै भूकम्पहरू तुलनात्मक रूपमा कम रिक्टर स्केलका वा सूक्ष्म भूकम्पहरू हुन् ।” यद्यपि, यी साना भूकम्पहरूले समेत कालान्तरमा धेरै विनाशकारी ठुला भूकम्पहरू ल्याउन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनले मनसुनलाई थप असामान्य बनाउन थालेकाले भारतीय उपमहाद्वीपमा पानीको ठुलो मात्रा कहिले र कहाँ जम्मा हुन्छ भन्ने पूर्वानुमान गर्न सकिँदैन । यसले सूक्ष्म भूकम्पमा प्रभाव पार्न सक्छ, र लामो समयसम्म खडेरी पर्दा भूगर्भीय गतिविधिको संख्या बढाउन सक्छ । साना भूकम्पहरूमध्ये धेरैजसो मानिसले महसुस नगर्ने र धेरै क्षति नपुर्‍याउने किसिमका हुन्छन् । तर यस्ता भूकम्पले भूगर्भीय चाप कम गरी ६ रिक्टर स्केलभन्दा माथिका ठुलो विनाशकारी भूकम्प जाने सम्भावना घटाउँछ कि यसको विपरित ठुलो भूकम्पको लागि थप चाप सञ्चय गर्छ भन्ने विषय प्रष्ट छैन ।

पासाडेना, क्यालिफोर्नियामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाका विज्ञ पल लन्डग्रेनले सन् २०१९ मा दिएको अन्तर्वार्तामा यही प्रश्नको जवाफ दिएका थिए, “कतिखेर कहाँ पृथ्वीसतहको धाँजा वा दरार टुट्न लागेको हुन्छ र गैर-भूगर्भीय कारणले समेत यो धराप भत्किन्छ भन्ने हामी अनुमान गर्न सक्दैनौँ । त्यसैले, जलवायु प्रक्रियाको कारण ठुलो भूकम्प जान्छ वा जाँदैन भनी हामी अहिले नै केही भन्न सक्ने स्थितिमा छैनौं ।”

के ठुला पूर्वाधार निर्माणले भूकम्प जान सक्छ ?
मानवीय गतिविधिको कारण पनि भूकम्प जान सक्छ भनी सन् १९६० देखि नै अध्ययन गर्न थालिएको थियाे । जलविद्युत आयोजनासँग सम्बन्धित रहेर जलाशय-प्रेरित भूगर्भीय गतिविधि (RIS) भनिने यस प्रणालीको अभिलेख राखिएको छ । यस प्रणालीले ठुलो जलाशयमा पानीले सिर्जना गरेको चापको कारण जलाशय मुनिको भाग वा नजिकै रहेको दरारको कारण भूसतह मूनिको भाग चिप्लन्छ र भूकम्प जान्छ भनी देखाएको छ ।

चीन, भारत, पाकिस्तान, नेपाल र भुटान समेट्ने गरी हिमाली क्षेत्रमा हाल करिब १०० जलाशययुक्त आयोजनाहरू सञ्चालनमा छन् र थप ६५० आयोजनाहरू योजना तर्जुमाको चरणमा वा निर्माणाधीन चरणमा छन् । यी सबै आयोजनाहरू पूरा भएमा, हिमाली क्षेत्र विश्वमै सबैभन्दा बढी बाँध घनत्व भएको क्षेत्र बन्नेछ । त्यसमा पनि भारतको जम्मूको चेनाब क्षेत्र र अरुणाचल प्रदेशको ब्रह्मपुत्र नदी किनारमा बढी आयोजनाहरू रहनेछन् ।

भूगर्भ शास्त्रका एकीकृत अनुसन्धानकर्ता तथा जम्मू र कश्मीरको श्रीनगरमा रहेको अनुसन्धान संस्थान, तहकीक इन्टरनेशनलका निर्देशकका अयाज महमूद दारका अनुसार, “जम्मुमा रहेको चेनाब उपत्यका जलाशय-प्रेरित भूकम्पको केस स्टडी हो ।” चेनाब उपत्यकामा अवस्थित चार ठुला जलविद्युत आयोजनाहरू बाहेक, कम्तिमा अन्य छ ठुला परियोजनाहरू हाल विकासको विभिन्न चरणहरूमा छन्। सन् २०२२ को अगस्ट महिनामा चेनाब उपत्यकामा पाँच दिनभन्दा कम समयमा १३ ओटा भूकम्पहरू गए । “यो उपत्यका किश्तवार दरार वा फल्टमा पर्छ र ठुलो बाँध निर्माणले यस क्षेत्रमा भूगर्भीय गतिविधि बढेको प्रष्ट छ । यद्यपि, पूर्ण सूचना प्राप्त गर्न थप अनुसन्धान गर्न आवश्यक छ ” दार भन्छन् ।

जलवायु परिवर्तनले भूकम्पलाई कसरी बढी जोखिमयुक्त बनाउँछ ?
भूकम्पपछि पहिरो जाने वा हिमताल फुट्ने प्रक्रिया ग्लेशियल लेक आउटबर्स्ट फ्लड (GLOF) लगायतका बहुविपद् अर्थात् एउटा विपद्ले अर्को विपद् निम्त्याउने प्रक्रियाले ठुला भूकम्पको विनाशकारी प्रभावलाई झन् बढाउँछ ।

हिमनदीबाट पग्लिएको पानीको मात्रा बढ्दै जाँदा हिमतालका भित्ताहरूमा चाप वृद्धि भएर हिमताल विष्फोट भई आउने बाढीलाई ग्लेशियल लेक आउटबर्स्ट फ्लड (GLOF) भनिन्छ । । हिमतालहरू प्रायः स्थिर हुँदैनन् र हिमनदी फुट्दा पानीलाई अड्काएर राखेको गेग्र्यान वा लेदो बगेर ठुलो क्षति हुने सम्भावना हुन्छ । विश्वभर, १ करोड पचास लाख मानिसहरू हिमताल विष्फोटको जोखिममा रहेका छन् । त्यसको एक तिहाइ भारत (३० लाख) र पाकिस्तान (२० लाख) मा मात्र बस्छन् ।

हिमाली क्षेत्रमा जाने भूकम्पले हिमताल विष्फोट समेत गराउन सक्ने भएकाले अन्यत्र गएको ५ रिक्टर स्केलको भूकम्पभन्दा यहाँ जाने त्यत्रै भूकम्पले बढि क्षति गराउने, नेपालमा रहेको काठमाडौं विश्वविद्यालयको हिमालयन क्रायोस्फियर, क्लाइमेट एण्ड डिजास्टर रिसर्च सेन्टरमा कार्यरत भूकम्पविद् राकेश कायस्थले द थर्ड पोललाई बताए ।

जलवायु परिवर्तनले तापक्रम वृद्धि हुँदा हिमनदीहरू तीव्र गतिमा पग्लँदैछन् र यस प्रक्रियामा हिमतालहरूको संख्या बढ्दैछ । अनुसन्धानकर्ताहरूले हिमाली क्षेत्रमा ८,००० भन्दा धेरै हिमतालहरूको पहिचान गरेका छन् जसमध्ये २०० जति हिमतालहरू जोखिमयुक्त हुनसक्छन् । सन् २००३ देखि २०१०को बीचमा भारतीय राज्य सिक्किममा मात्र ८५ वटा नयाँ हिमतालहरू थपिए । समथर जमिनमा खुला ठाउँमा बालिने आगो र कोइला खानीजस्ता स्रोतहरूबाट उत्सर्जन हुने अत्यन्त हानिकारक प्रदुषकहरू समेत हिमनदीहरूमा खस्ने र यसले गर्दा थप ताप प्राप्त भई हिमताल पग्लाईको दर वृद्धि हुने हुँदा यस प्रक्रियाले तापमान वृद्धिको असरलाई अझै बढाउँछ ।

जलवायु परिवर्तनले गराउने तापक्रम वृद्धिले हिमाली क्षेत्रमा भूकम्प निम्त्याउन सक्ने अर्को तरिका यस्तो हुनसक्छः हिमनदी पग्लँदा बरफको ठुलो अंश टुक्रिएर झर्दा कम्पन हुने वा क्रायो-सिस्मिसिटी वा ‘आइसक्वेक’ नामक प्रक्रिया उत्पन्न हुन्छ जसमा हिउँ वा बरफ जमेको जमिन हल्लँदा ध्रुवीय क्षेत्रहरूमा हुने जस्तो भूकम्पीय क्रिया हुन्छ । “हिमनदीहरू फुट्दा हिउँले ढाकेको सतहमा ७ रिक्टर स्केल सम्मका भूगर्भीय क्रियाहरू उत्पन्न हुनसक्छन्,” अयाज महमुद डार भन्छन् । “हिमनदीहरूले अधिक गर्मी सोस्दै गर्दा, नयाँ दरारहरू थपिने सम्भावना बढ्छ र यसबाट हिमकम्प वा अभालाञ्चे जाने सम्भावना पहिलेभन्दा बढेको छ । त्यसैले हिमाली क्षेत्र साँच्चिनै खतरामा छ ।”

हिमालीक्षेत्रमा बढ्दो बहुविपद्
अहिलेसम्म हिमनदीहरू फुटेका कारण हिमाली क्षेत्रमा ठुलो हिमकम्पीय घटनाहरू घटेका छैनन् । हिमनदीहरू फुट्दा बाढी र पहिरो जाने जस्ता बहुविपद्हरू देखा परेका छन् । सन् २०२१ को फेब्रुअरी महिनामा यस्तै घटना घटेको थियो । त्यतिखेर, भारतीय राज्य उत्तराखण्डमा भूकम्पका कारण नभई हिमस्खलनका कारण हिमनदीको ठुलो अंश भत्किएपछि अचानक बाढी आयो र निर्माणाधीन बाँधमा क्षति पुग्यो ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बहुविपद्को सम्भावना बढी छ । उदाहरणका लागि, बेमौसमी वर्षा र अतिवृष्टीका कारण हिमाली क्षेत्रमा पहिरो खस्ने क्रम बढ्दो छ । सन् २०२० मा नासाको अनुसन्धान टोलीले सन् २०६१ देखि २१०० सम्ममा नेपाल–चीन सीमा क्षेत्रमा ३० देखि ७० प्रतिशत बढी पहिरो जाने अनुमान गरेको थियो । यस क्षेत्रमा हिमनदीहरू र हिमतालहरू धेरै छन् । यसको अर्थ यहाँ भूस्खलनले हिमताल विष्फोट गराउने र हिमताल विष्फोटले भूस्खलन गराउने सम्भावना उच्च छ । यसका साथै, जलवायु परिवर्तनले उच्च पहाडी क्षेत्रका भिरालो जमिनमा अस्थिरता बढाइरहेको स्पष्ट प्रमाण हरू छन्, जसको अर्थ हो कि तिनीहरू चट्टान खस्ने र पहिरोको अधिक जोखिममा छन् ।

ठुलो भूकम्प गयो भने यी सबै घटनाहरू एकै साथ हुन पनि सक्छन् । यस्ता बहुविपद्हरूले ठुलो क्षति पुऱ्याउनुका साथै राहत कार्यहरूलाई समेत जटिल र सीमित तुल्याउनेछन् ।

पाकिस्तानको राष्ट्रिय भूकम्पीय अनुगमन केन्द्रका जाहिद रफीले भने, “सन् २००५ मा काश्मिरमा गएको भूकम्पको अनुभव हेर्ने हो भने हिमाली क्षेत्रमा जाने पहिरोहरू गम्भीर प्रकृतिका हुन्छन् भन्ने देखिन्छ । त्यतिखेर भूकम्पको कारण पहिरोहरू गएका थिए र पहिरोबाट मात्रै ८६,००० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । पहिरो, चट्टान खस्ने र पराकम्पनका कारण सडकमा क्षति पुगेर कैयौँ हप्तासम्म यातायात अवरुद्ध भएको थियो र यसले गर्दा राहत कार्यक्रम समेत प्रभावित भएको थियो ।”
ओमेर अहमदको अतिरिक्त रिपाेर्टि‌ग सहित अब्रार मात्तुले अंग्रेजीमा तयार गरेकाे यो लेख ठाकुर अंगाईले नेपालीमा अनुवाद गरेका हुन् । Original link: https://dialogue.earth/ne/3-ne/116906/

This article was originally published on Dialogue Earth under the Creative Commons 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here