Saturday, July 20, 2024
27.1 C
Kathmandu

अपाङ्गता भएका व्यक्तिहरुका लागि विपद् पूर्वतयारी

क्रियटिभ खबर, १८ माघ २०७८, काठमाडौं । सामान्य जीवनयापन गर्न समेत अरूमा निर्भर हुनुपर्ने अवस्था हो अपाङ्गता । अपाङ्गता भएका व्यक्तिहरु विपद्का समयमा झन जोखिममा पर्न सक्दछन् र बढी प्रभावित हुन्छन् । त्यसमा पनि विशेषगरी पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका, महिला र ज्येष्ठ नागरिकहरु विपद्का समयमा अरुभन्दा बढी जोखिममा पर्दछन् । त्यसैले, समुदायमा विपद् जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी सम्बन्धित सूचना र सन्देशहरु प्रवाह गर्दा र प्रतिकार्य सम्बन्धी तालिमहरु गराउदा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गरी, उनीहरुले बुझ्ने साङ्केतिक भाषा, ब्रेल, सङ्केत वा सरल र बुझिने चित्रहरूको प्रयोग गरी जानकारी दिनुपर्छ र सहयोगी प्रविधिको व्यवस्था मिलाउनुपर्छ । यसका साथै, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, तथा अन्य सार्वजनिक स्थानहरु अपाङ्गतामैत्री बनाईएको खण्डमा पनि अपाङ्गता भएका व्यक्तिहरु केही हदसम्म विपद्को सामना गर्न सक्षम हुनेछन् ।

विपद् पूर्वतयारीका क्रियाकलापहरु

१. घरबाट निस्कने बाटोको नक्सांकन गर्ने र सोबारे अभ्यस्त भइरहने ।

२. बासस्थान आसपासमा भएका खुल्ला तथा सुरक्षित ठाउँहरुको पहिचान गरिराख्ने ।

३. भूकम्प लगायत अन्य कारणले संरचना कमजोर भएको घर छ भने प्राविधिकसँग सल्लाह गरी उक्त घरलाई कम्तिमा प्रवलिकरण (Retrofitting) गराउने ।

४.  आपत्कालीन अवस्थाका लागि प्राथमिक उपचार बक्स, औषधी, पानी, व्यक्तिगत सरसफाइका सामान, टर्च लाइट, सिठ्ठी, लाइटर, पैसा, कपडा, अत्यावश्यक कागजात, नबिग्रने खानेकुरा र सहायक सामग्री जस्तै सेतो छडी, श्रवण यन्त्र, क्याथेडर, युरिनल ब्याग आदि सहितको झटपट झोला ढोकाको छेउछाउमा सजिलै लिन सक्ने गरी राख्नुपर्दछ र सो बारे अभ्यास गर्नुपर्छ ।

५. आपत, विपद्का बेला आवतजावत गर्न अप्ठेरो पार्ने ठाउँका अवरोधहरु हटाउने ।

६. तिखो, चुच्चो वा धारिलो सामग्री जस्तै ः हँसिया, छुरी जस्ता सरसामान वा औजारहरु सुरक्षित स्थानमा राख्ने ।

७. गह्रौं फर्निचरलाई नढल्ने गरी भित्तामा अड्काएर वा किला ठोकेर राख्ने ।

८. हिँडडुल गर्न वा व्हिलचियर गुडाउन, घुमाउन अप्ठेरो पर्ने गरी कुनै फर्निचर नराख्ने ।

९. पानीका श्रोत वा मुहानमा अवरोध वा दूषित हुने सम्भावना वा सूचना भएमा सफा खानेपानी जम्मा गरेर राख्ने ।

१०. झ्यालका सिसाहरु सकेसम्म नफुट्ने गरी जडान गरिएको हुनुपर्दछ ।

११. निस्कने ढोका मिलेसम्म बाहिर पट्टी खोल्ने हुनुपर्दछ ।

१२. घरमा आगलागी सूचक यन्त्र (Fire alarm) जडान गर्ने ।

१३. बिजुलीका तारहरु नलत्रिएको र सुरक्षित भए नभएको जाँच गर्नुपर्दछ र प्रयोग नभएको समयमा त्यस्ता सामानहरु प्लगबाट निकाल्ने ।

१४. प्रहरी, एम्बुलेन्स, दमकल, ट्राफिक प्रहरी, ब्लड बैंक, शव वाहन जस्ता आपत्कालीन सम्पर्क नं. र आफ्नो निकटका व्यक्ति (परिवारहरु) को सम्पर्क नं. मोबाइलमा सेभ गरेर अथवा अफूलाई सहज हुने तरिकाले सुरक्षित राख्ने ।

१५. आवश्यक पर्दा तुरुन्त भेटिने गरी अग्नी समन यन्त्र र आगो निभाउने व्ल्यांकेट तयारी हालतमा राख्ने ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here