Monday, April 15, 2024
16.1 C
Kathmandu

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, फागुन १ देखि विद्यालयका साथै के–के खोल्न पाईने ?

क्रियटिभ खबर, २४ माघ २०७८, काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ । कोरोना महामारीको तेस्रो लहर घट्दै गएको भन्दै सीसीएमसीसीले काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली आजबाट हटाउन सिफारिस गरेको हो । जोर बिजोर प्रणाली हटाउनेबारे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘सिट क्षमता भन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधन भित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने,’ आइतबार जारी सूचनामा भनिएको छ, ‘चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश गर्न दिन पाइनेछैन । लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा यात्रुको सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी आलो पालो भिडभाड नहुने व्यवस्था मिलाई आलो पालो गरी व्यवस्था मिलाउने समेत सूचनामा उल्लेख छ ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, स्टोर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा ५० जना मात्र र पार्टी प्यालेसमा कुल क्षमताको ५० प्रतिशत वा बढीमा पूर्ण खोप लगाएका सय जना मानिस राखेर धार्मिक, सामाजिक वा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ । बैठकले फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझ सहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

यसका साथै, विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य मापदण्डको पालना गरी फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने बाताइएको छ । तर, १२ वर्ष पुरा भएका विद्यार्थीहरु र १२ वर्ष मुनिका विद्यार्थीको हकमा विद्यार्थी संख्या समेत विचार गरी सम्बन्धित स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापनले आलोपालो वा सिफ्ट कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । साथै, सबै किसिमका परिक्षाहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जेड आकारमा सीट व्यवस्थापन गरी सञ्चालन गर्ने समेत सूचनामा उल्लेख छ ।

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here