Saturday, July 20, 2024
27.1 C
Kathmandu

घर बनाइदिएपछि खुशी छु ।

क्रियटिभ खबर, २७ फाल्गुण २०७८, काठमाण्डौं। रैनादेवी छहरा गाउँपालिकाकी सिबा सुनार निकै खुशी हुनुहुन्छ । गाउँपालिकाले घर बनाइदिएपछि उहाँमा यो खुशी आएको हो । उहाँ भन्नुहुन्छ : ‘छोराहरूले पनि नहेरेको अवस्थामा मेरो दुःख देखेर गाउँपालिकाले घर बनाइदिनु भयो, उहाँहरूलाई धेरै–धेरै धन्यवाद् ! बाबु ।’

हो, यस रैनादेवी छहरा गाउँपालिका वडा नं.-४, मा बस्दै आउनु भएकी दलित समुदायकी एकल महिला सिबा सुनारको घर गाउँपालिकाले बनाइदिएको हो । उहाँको अवस्था नाजुक रहेको र बिहान बेलुकाको छाक टार्न अन्नको जोहो गर्नु की घर मर्मत गर्ने भन्ने कुराले उहाँलाई दिनहुँ जसो चिन्तीत बनाउथ्यो । उहाँको श्रीमान् पनि पहिले नै वित्नु भएको र भएका तीन छोराहरूले पनि वास्ता नगरेकाले यो दुःखको भुमरीमा एक्लै जीवन व्यतीत गरिरहेको उहाँको भोगाइ छ । छोराहरूलाई घर बनाइ देउ न भन्दा वास्ता नै नगर्ने र एक छोराले त आफ्नो कमाइ पनि नभएकाले आफु पालिनु की तपाइँलाई हेर्नु भन्थ्यो । त्यहीं पिरले हो कि आत्महत्या गर्‍यो । उहाँले भन्नुभयो ।

यस्तो दुःखको अवस्थामा रहेकी मलाई कस्ले पो हो हेर्ला, घर पनि पुरानो भइ भत्कन थालेको र फुसको छाना पनि कुहिँदै गई कोठाबाट सिधै आकाश देखिन्थ्यो । पानी आउँदा त झनै मन सिरिङ्ग भएर कता गएर बस्नु जस्तो लाग्थ्यो तर आफैले आफैलाई भन्थे इश्वरको लिला न हो समय आएपछि सबै एक दिन जानैपर्छ, भनेर चित्त बुझाइ बस्थे ।

गाउँपालिकाले समुदायमा फुसको छाना रहित गाउँपालिका बनाउने उद्देश्यले बजेटको समेत निकासा गरी सोही अनुरुप फुसको छाना हुनेहरूका लागि टिन वितरण गरेको थियो । सोही अनुसार गाउँपालिकाले गरेको यस प्रकारको कार्यक्रमले फुसको छाना हुनेहरूले टिन पाएँ तर टिन मात्रै भएर नहुने र भित्ता समेत जिर्ण भएकाले उहाँको केही सिप लागेन । वडा नं.-४ का वडा अध्यक्ष विष्णु प्रसाद पोखरेल घर जाँदा, भित्तो भत्केर कुखुरा पनि छिर्ने देखेर, यस्तो अवस्थाले भएन भनी आफै अग्रसर भएर गाउँपालिकाबाट बजेट ल्याई घर बनाइदिएको भनी वडा अध्यक्षले जानकारी दिनुभयो ।

घर बनेपछि खुशी हुँदै उहाँ भन्नु हुन्छ : ‘बस्न त आनन्द भयो नी, यता चुहियो उता उहियो भन्नु नी परेन, म जस्ती एक्लीलाई छोराले त नहेरेको अब कस्ले हेर्छ भन्दै मृत्युको दिन कुरेर बसेकि मलाई गाउँपालिकाले घर बनाइ दिएकोमा अझ धेरै बाच्ने र खुशी साथ रहने मनोबल बढेको छ । यसका लागि उहाँहरूलाई धेरै–धेरै धन्यवाद् !
                                    सिबा सुनार, रैनादेवी छहरा गाउँपालिका वडा नं.–४, पाल्पा

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here