Monday, June 24, 2024
29.1 C
Kathmandu

मङ्कीपक्सको रोकथाम र नियन्त्रणका लागि जान्नैपर्ने कुराहरू

क्रियटिभ खबर, १३ जेष्ठ २०७९, काठमाण्डौं। मङ्कीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । यो रोग बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट फैलन सक्छ । यो भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको टोकिएको वा फुटेको छालाबाट शरीरमा सर्न सक्छ । नेपालमा यो रोग नदेखिएता पनि विश्वका धेरै देशहरूमा देखिएकाले सचेतना ल्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स सम्बन्धी जानकारीमूलक सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । 

कसरी सर्छ ?
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा तिनीहरूको निम्न कुराबाट सर्छ :
१. थुक, र्‍याल
२. घाउ, खटिरा
३. शरीरबाट निस्कने तरल पदार्थ
४. दूषित सतह र सामग्री ।

लक्षणहरू के के हुन् ?
१. ज्वरो आउनु,
२. सामान्यतया ज्वरो आएको १ वा ३ दिन भित्रमा छालामा दाग देखिनु
३. अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु
४. डाबर परिवर्तित भई फोका हुँदै पाप्रा लागेर उप्किनु
५. टाउको, ढाड र मांसपेशी दुख्नु
६. शरीरका ग्रन्थिहरू बढ्नु
७. लक्षण १४ देखि २८ दिन सम्म रहन सक्छ सामान्यतया आफै हराउँछ ।

सम्भावित जटिलता
बालबालिका र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूलाई निम्न जटिलता हुन सक्छ :
१. आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
२. अन्य जीवाणुको सङ्क्रमण
३. निमोनिया
४. मस्तिष्क ज्वर
५. गर्भ खेर जानु
६. मृत्यु ।

रोकथामका उपायहरू :
१. मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
२. सङ्क्रमित व्यक्तिलाई घरमा वा आइसोलेसनमा राख्ने
३. सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पिपिई लगाउने
४. घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पन्जा लगाउने
५. नियमित रूपमा साबुन पानीले हात धुने
६. मरेका वा बिरामी जनावरको सम्पर्कमा नजाने
७. सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडाहरू तातो पानी र डिटर्जेन्टले धुने
८. सङ्क्रमितको सम्पर्कमा आएको सतह र स्थान निसङ्क्रमण गर्ने
९. मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
१०. फोहोरलाई उचित स्थानमा फाल्ने ।

स्रोत (फोटो तथा समाचार) : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here