Monday, April 15, 2024
16.1 C
Kathmandu

२०७९/८० को बजेटमा जलवायु परिवर्तन र विपद् व्यवस्थापन

क्रियटिभ खबर, १६ जेष्ठ २०७९, काठमाण्डौं। आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनका कुराहरु पनि समेटिएका छन् । संघीय संसदको संयुक्त बैठकमा २०७९ साल जेठ १५ गते आइतबार अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रस्ततु गर्नु भएको बजेटमा जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी निम्न कुराहरु रहेका छन्।

जलवायु परिवर्तन र विपद् व्यवस्थापन
३०९. जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्न अनुकूलनका कार्यक्रम सञ्चालन गरिनेछ । अर्थतन्त्रलाई हरित अर्थतन्त्रमा रूपान्तरण गर्न सम्भाव्य सबै उपायहरू अवलम्बन गरिनेछ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी कार्यक्रममार्फत जोखिम न्यूनीकरण गरिनेछ ।

३१०. जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू कार्यान्वयन गरिनेछ । दोस्रो राष्ट्रिय निर्धारित योगदान, राष्ट्रिय अनुकूलन योजना र शून्य कार्बन उत्सर्जन रणनीति प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।

३११. नेपालको भू–बनोट, जलवायु परिवर्तनका कारणबाट सिर्जित प्रतिकूल प्रभाव, विकास प्रयासहरूबाट उत्पन्न प्रतिकूल असरहरू समेतलाई न्यूनीकरण गर्दै विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न प्रदेश र स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ ।

३१२. राष्ट्रिय रूपमा र सबै स्थानीय तहमा जलवायु परिवर्तन अनुकूलन कार्य योजना बनाई लागू गरिनेछ । पूर्वाधार निर्माणका ठुला आयोजनाहरूमा विपद् जोखिम न्यून गर्न जलवायु परिवर्तन अनुकूलनका उपायहरू अवलम्बन गर्नुपर्ने व्यवस्था गरिनेछ ।

३१३. विपद् जोखिम न्यूनीकरण गर्न बहुप्रकोपीय पूर्व चेतावनी राष्ट्रिय प्रणाली स्थापना तथा बहुप्रकोपीय जोखिम आङ्कलन प्रणाली स्थापना गरिनेछ । विपद्का घटनाहरूबाट प्रभावित जनसंख्याको तथ्याङ्क आधार निर्माण गरी राहत र पुनरुत्थानका कार्यक्रमहरू सञ्चालन गरिनेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको लागि रु. १ अर्ब ६१ करोड विनियोजन गरेको छु ।

३१४. विपद् प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपद् व्यवस्थापनमा संलग्न निकायहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको छ। विपद् पूर्वतयारी, खोज, उद्धार, राहत र पुनर्स्थापनामा स्थानीय समुदायको सहभागिता अभिवृद्धि गर्न सङ्घ, प्रदेश र स्थानीय स्तरमा स्वयंसेवक परिचालन गरिनेछ ।

३१५. विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउन पूर्वमा सप्तरी र पश्चिममा कैलाली जिल्लामा सशस्त्र प्रहरी बल मातहत विपद् उद्धार तालिम शिक्षालय स्थापना गर्न आवश्यक रकम विनियोजन गरेको छु ।

३१६. जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरहरूको वैज्ञानिक अध्ययन–अनुसन्धान गर्नका साथै हिम मौसमी प्रणालीको निरन्तर अनुगमन गर्न हाल सञ्चालित नौ वटा हिम केन्द्रहरूलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गरिनेछ । जलवायु परिवर्तनका कारण उत्पन्न हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न संखुवासभाको एक, सोलुखुम्बुका दुई र मनाङको एक गरी चारवटा हिमतालमा रहेको पानीको सतह घटाउने र तल्लो तटीय क्षेत्रहरूमा पर्व सूचना प्रणालीको निर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here