Saturday, July 20, 2024
24.1 C
Kathmandu

आर्थिक वर्ष २०७९/८० को बजेटमा : खानेपानी तथा सरसफाइ

क्रियटिभ खबर, १६ जेष्ठ २०७९, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले २०७९ साल जेठ १५ गते आइतबार प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा खानेपानी क्षेत्रको लागि रु.३७ अर्ब ३५ करोड विनियोजन गरेको बताउनु भएको छ । बजेट वक्तव्यमा खानेपानी तथा सरसफाइ सम्बन्धी निम्न कुराहरू पनि रहेका छन् :

खानेपानी तथा सरसफाइ :

१७५. राज्यको अभिभारा: एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहसँगको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गरिनेछ । यो कार्यक्रम दलितहरूको उच्च घनत्व रहेको बस्तीहरूमा प्राथमिकताका साथ सञ्चालन गरिनेछ।

१७६. मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा खानेपानी वितरण कार्य सुरु भइसकेको छ। मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथान्तरणको व्यवस्था मिलाइनेछ। याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिनेछ । दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथ बाहिरका थप क्षेत्रहरूमा मेलम्ची खानेपानी वितरणका लागि पाइप लाइन बिछ्याउने कार्य सुरु गर्न रु.१ अर्ब ९२ करोड विनियोजन गरेको छु।

१७७. मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरिएको छ। यी समितिहरूबाट सम्पादन हुँदै आएका कार्यहरू खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।

१७८. काठमाडौँ उपत्यकामा सिस्नेरी र ठोस्ने खोलाबाट खानेपानी आपूर्ति गर्न अध्ययन कार्य अघि बढाइनेछ। नगरकोट क्षेत्र, दक्षिणकाली क्षेत्र, रामकोट क्षेत्र र गोदावरी क्षेत्र गरी काठमाडौँ उपत्यकाका चार दिशामा पानी पोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्न अध्ययन गरी यस्ता जलाधारलाई खानेपानी आपूर्तिको वैकल्पिक स्रोतको रूपमा विकास गरिनेछ। यी क्षेत्रमा बहुउपयोगी पार्क तथा मनोरञ्जनात्मक स्थल समेत निर्माण गरिनेछ। जलाशययुक्त विद्युत आयोजनाको बहुउपयोग गरी खानेपानी आपूर्ति गर्न आवश्यक पूर्वाधार र प्राविधिक क्षमता विकास गरिनेछ।

१७९. सबै स्थानीय तहको सरसफाइ गुरुयोजना तयार गर्ने नीतिअनुरूप आगामी आर्थिक वर्ष थप १०० वटा स्थानीय तहको सरसफाइ गुरुयोजना तयार गरिनेछ। एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत देशका विभिन्न १२ वटा सहरहरूमा एकीकृत खानेपानी तथा फोहोर पानी प्रशोधन आयोजनाहरूको विस्तृत अध्ययन सम्पन्न गरिनेछ। विभिन्न सहरहरूमा ढल निकासको उचित प्रबन्ध गर्न रु. २ अर्ब ४४ करोड बजेट विनियोजन गरेको छ।

१८०. सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत सुर्खेतको सभाधाट, काभ्रेको पाँचखाल, दार्चुलाको खलङ्गा, भक्तपुरको दधिकोट र चितवनको शारदानगर खानेपानी आयोजनाहरू आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। यी आयोजनाहरूबाट करिब १ लाख ९ हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ। सहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि रु.४ अर्ब ४४ करोड विनियोजन गरेको छ।

१८१. खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम र केन्द्रीय खानेपानी आयोजना अन्तर्गत सञ्चालित ३१ वटा आयोजनाहरू सम्पन्न गर्न रु. ४ अर्ब ९६ करोड विनियोजन गरेको छ। यसबाट थप ४ लाख १३ हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ। जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाहरूको कार्यान्वयनका लागि रु.३ अर्ब २३ करोड विनियोजन गरेको छु। उक्त आयोजनाहरूबाट थप १ लाख ५० हजार जनसंख्यालाई खानेपानी सेवा उपलब्ध हुनेछ ।

१८२. सङ्घीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण भएका खानेपानी आयोजनाहरू प्राथमिकीकरण गरी सम्पन्न गर्न रु.७ अर्ब ३१ करोड विनियोजन गरेको छु।

१८३. खानेपानी आपूर्ति प्रणालीलाई दिगो बनाउन प्रदेश र स्थानीय तहसँगको सहकार्यमा साना खोल्सी र मूल संरक्षण अभियान सञ्चालन गरिनेछ। स्थानीय सरकारको सहजीकरणमा अधिकतम एक हजार घरधुरी लाभान्वित हुने खानेपानी आयोजना स्थानीय जनसहभागिता मार्फत कार्यान्वयन गरिनेछ। पूर्व स्वीकृति लिई जनसहभागितामा उपभोक्ताहरूले खानेपानी योजना निर्माण गरेमा गुणस्तर र आयोजनाको दिगोपन मूल्याङ्कन गरी लागतको अधिकतम ८० प्रतिशतसम्म भुक्तानी दिने व्यवस्था मिलाइनेछ।

१८४. खानेपानी क्षेत्रको लागि रु.३७ अर्ब ३५ करोड विनियोजन गरेको छ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here