Saturday, July 20, 2024
24.1 C
Kathmandu

२० जनालाई प्रदान गरीयो गोताखोर तालिम (Deep Water Diving Training)

क्रियटिभ खबर, २९ जेष्ठ २०७९, काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहयोगमा वैशाख २५ गतेदेखि जारी रहेकाे गोताखोर तालिम (Deep Water Diving Training) हिजो जेष्ठ २८ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा आयोजित एक कार्यक्रमका बिच माननीय गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । 

१० जना प्रशिक्षक र २० जना प्रशिक्षार्थी सहभागी भएकाे ५ हप्ता लामो तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई कोशी नदी, फेवाताल, कुलेखानीमा तालिम दिइएको थियो । गोताखोरहरूद्वारा पानीमा डुबेका व्यक्तिहरूको कसरी उद्धार गर्ने, माछा मार्न जाँदा बेपत्ता भएका व्यक्तिको कसरी खोजी गर्ने, घाइतेहरूको कसरी उद्धार गरी प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लगायतका विषयमा त्रिशूली नदीमा प्रदर्शनी (Demonstration) गरेका थिए । उक्त अवसरमा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९७ लाख रुपैंया बराबरको उद्धार तथा खोज सामाग्री हस्तान्तरण गरेको थियो ।  

समापन कार्यक्रममा माननीय गृहमन्त्री खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारीहरू, प्रमुख जिल्ला अधिकारीहरू लगायतलाई पनि आवश्यक भएको धारणा व्यक्त गर्नुभयो । तालिम समापन गरेका प्रशिक्षार्थीहरूलाई बधाई दिँदै मन्त्री खाँणले अर्को पटकको तालिममा महिला प्रशिक्षार्थी पनि सहभागी गराउन सुझाव दिनुभयो । 

गृह सचिव टेकनारायण पाण्डेले विपद्का बेला विदेशबाट गोताखोर बोलाउनुपर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपालमै गोताखोर उत्पादन हुनु विपद् व्यवस्थापनको क्षेत्रमा उल्लेख्य उपलब्धि भएको चर्चा गर्नुहुँदै सबैको समन्वय र सहकार्यमा मात्र विपद् व्यवस्थापनमा लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले विभिन्न चुनौतीका बिच गोताखोर तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण टिमलाई बधाई दिनुहुँदै, ज्यान बचाउने सेवा भावका साथ फिल्डमा खटिन निर्देशन दिनुभयो ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here