Saturday, July 20, 2024
27.1 C
Kathmandu

मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत

क्रियटिभ खबर, ३१ जेष्ठ २०७९, काठमाडौँ । मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएकाे छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा जेष्ठ ३० गते सिंहदरबारमा बसेको १३ औँ बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो ।

कार्य योजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण तथा प्रभाव आङ्कलन, मन्त्रालयगत तथा विषयगत क्षेत्रको जिम्मेवारीका साथै आपत्कालीन सञ्चालन कोष तथा सामग्रीहरूको मौज्दात विवरण समेटिएको छ ।

दुई खण्डमा बाँडिएको कार्य योजनाको पहिलो खण्डमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आङ्कलन, विगतका मनसुनको पूर्व तयारी तथा प्रतिकार्यको समीक्षा र मन्त्रालय तथा विषयगत क्षेत्रको जिम्मेवारी समेटिएको छ । त्यस्तै, दोस्रो खण्डमा संघीय मन्त्रालय तथा निकायहरू र विषयगत क्षेत्रको मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना छ ।

कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्न र मनसुनजन्य विपद्को व्यवस्थापनलाई कार्यान्वयन तहमा प्रभावकारी समन्वय र सहकार्य गर्न मनसुन अवधिभरका लागि बैठकले गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ । टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जनस्रोत तथा सिँचाई विभागका प्रतिनिधिहरू रहेका छन्।

बैठकमा गृहमन्त्री खाँणले मनसुनजन्य विपद्का घटनाहरूबाट जनधनको क्षति न्यून गर्न पूर्व तयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरू तथा सुरक्षा निकायलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले विपद्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा घटना भइहालेमा अस्तव्यस्तता रोक्न प्रभावकारी सञ्चारमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायहरूको आपतकालीन सम्पर्क नम्बरहरू सर्वसाधारणसम्म पुग्ने गरी सञ्चार गर्न सुझाव दिनुभयो । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राख्नुभयो । मुख्यसचिव शंकरदास बैरागीले उद्धार र राहतमा तलदेखि माथि सम्मका निकायबिच समन्वय र रणनैतिक स्थानहरूमा पर्याप्त मात्रामा उपकरणहरूको व्यवस्था गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । गृह सचिव टेकनारायण पाण्डेले विपद्को समयमा पनि सडक, बिजुली, सञ्चार जस्ता सार्वजनिक संयन्त्रलाई क्रियाशील गराइराख्न ज्यादा ध्यान दिइने बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ का विशेषताहरूबारे बैठकमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव तथा सहसचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न विभागका महानिर्देशक, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले आफ्ना मन्त्रालय तथा निकायबाट भएको पूर्व तयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे बैठकलाई जानकारी गराउनु भएको थियो ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here