Monday, April 15, 2024
16.1 C
Kathmandu

विभागले बाढीको सूचना जोखिम क्षेत्रका समुदायको मोबाइलमा कसरी पठाउँछ ?

क्रियटिभ खबर, ०८ असार २०७९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशको विभिन्न स्थानमा २२० भन्दा बढी स्वचालित वर्षा मापन केन्द्रहरू र १२० बढी स्वचालित जल सतह मापन केन्द्रहरू राखेको छ र त्यसबाट सङ्कलन गरिएका तथ्याङ्कबाट विभागले बाढीको जोखिम मापन गर्छ । देशभरको बाढीको अवस्थाको निरिक्षण काठमाडौँको जल तथा मौसम विज्ञान विभागले गर्ने गर्दछ ।

विभिन्न नदी आसपासका क्षेत्रहरूमा बाढीको सम्भावना र बाढीको जोखिम पहिचान गरेर क्रमशः सतर्कता तह र खतरा तह तोकिएको र कुनै क्षेत्रको वर्षा मापन केन्द्रहरूमा तोकिएको सीमा भन्दा बढी बर्सात भएमा सो क्षेत्र आसपासमा एस्.एम्.एस्. मार्फत पूर्व सूचना दिइने गरेको विभागले जनाएको छ । यस सन्दर्भमा विभागले, ठूला नदीहरूमा ८ देखि १० घण्टा, मझौला नदीहरूमा ५ देखि ६ घण्टा र साना नदीहरू र Flash Flood को हकमा १ देखि २ घण्टा पहिले एस्.एम्.एस्. गर्ने गरेको छ । एस्.एम्.एस्. मार्फत सरोकारवालाहरू र सर्वसाधारणलाई पूर्व सूचना प्रदान गर्ने कार्यका लागि विभागले बाढी जोखिमका क्षेत्रहरू (Flood Polygon) पहिचान गरेको छ । यसका लागि मोबाइल सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एन् सेल सँग समझदारी गरेर सो क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्ताहरू तथा अन्य सरोकारवालाहरूलाई एस्.एम्.एस्. मार्फत पूर्व सूचना सम्प्रेषण गर्ने गरेको विभागले बताएको छ । सर्वसाधारणलाई बाढी पूर्व सूचना र जानकारी प्राप्त गर्न, नेपाल टेलिकम र एन् सेल प्रयोगकर्ताहरूको लागि चौबीसै घण्टा निशुल्क (toll free) टेलिफोन (११५५) सेवा सञ्चालन गरी सूचना प्रवाह गर्ने गरिएको विभागले जनाएको छ ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here