Friday, May 24, 2024
22.1 C
Kathmandu

विद्यालयले अपनाउनुपर्ने खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड र यसका सूचकहरु

क्रियटिभ खबर, ०६ फाल्गुण २०७८, काठमाडौं । स्वच्छ र सुरक्षित वातावरणमा हुर्कन पाउनु हरेक बालबालिकाको अधिकार हो । सफा पानी, आधारभूत शौचालय, र स्वच्छताका अभ्यासहरुले उनीहरुको जीवनमा स्वस्थ आनीबानीको सुरुवात हुन्छ । विद्यालयमा अध्ययन गर्ने बालबालिका (विद्यार्थी) ले धेरै समय विद्यालयमा विताउनुपर्ने भएकाले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्नु आवश्यक हुन्छ ।

हरेक विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी कार्यविधि, (दोस्रो संस्करण २०७५) को पालना गर्दै विद्यालयमा विद्यालयस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्नुपर्छ । सबै विद्यालयहरुमा पानी, शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफ देहिताका सूचक सहितको मापदण्ड हुनु आवश्यक हुन्छ । सबै विद्यालयमा बाल, लैङ्गिक र अपाङ्गतामैत्री पानीको सुविधा, चर्पी र साबुन सहितको हात धुने सुविधाका साथै महिनावारी व्यवस्थापनको सुविधालाई जोड दिनु पर्दछ । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका अवस्थालाई मूल्याङ्कन गरी वर्गीकरण गर्न तारा पद्धतिलाई अपनाउदै उत्कृष्ट विद्यालयका लागि तीन तारा, मध्यम अवस्थाका लागि दुई तारा र सुधारोन्मुख अवस्थाका लागि एक तारा सबैले देख्न सक्ने ठाउँमा प्रदर्शन गर्ने व्यवस्था विद्यालयले मिलाउनु पर्छ भनी कार्यविधिमा उल्लेख गरिएको छ । एक तारा र दुई तारा प्राप्त गर्ने विद्यालयहरुले तिन ताराका सूचकहरुलाई पछ्याउने कोशिस गर्नुपर्छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्धनका लागि (तिन तारका सूचकहरु) :

१. पानी : सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीको व्यवस्था मिलाउने।
२. शौचालय : सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानीसहितको सुधारिएका तथा सुचारु शौचालयको सुविधासहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाउने ।
३. वातावरणीय सरसफाइ : सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागू गरी फोहोरको व्यवस्थापन गर्ने ।
४. सफा र हरियाली वातावरण : विद्यालय भित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगैंचा र करेसाबारीको विकास गरिएका ।
५. स्वच्छता सुविधा : समूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएका ।
६. स्वच्छता शिक्षा : स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएका ।
७. महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : छात्राहरूले पुन प्रयोग गर्ने महिनावारी सामग्री तयार वा प्रयोग गर्ने सीप सिकी वा स्वस्थकर महिनावारी सामग्री प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेको ।
८. संस्थागत व्यवस्था र दिगोपना : नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, पानी टंकी, फिल्टर र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको ।
९. विपद् जोखिम व्यवस्थापन : खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद् जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको ।
१०. अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र महिनावारी सामग्री) को स्थापना गरिएका ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here